न्यूजप्रिन्ट रोकिएकोमा पेशकर्मीहरुको कडा आपत्ति/'सहयोग गर्न तयार छौं'

  • Friday, June 25, 2010
  • Posted by Madan Sapkota

कान्तिपुरको न्यूजप्रिन्ट भारतीय अधिकारीहरुले रोकेको विषयमा पेशगत संस्थाका प्रतिनिधिहरुले कडा आपत्ति जनाएका छन् । त्यसको बिरुद्धमा उनीहरुले कान्तिपुरलाई कानुनीलगायतका आवश्यक सहयोग गर्न तयार रहेको जनाएका छन् ।

नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासंघ, चिकित्सक संघलगायत अधिकारकर्मीहरुको टोलीले शुक्रबार दिउँसो कान्तिपुर पब्लिकेशन्सको भ्रमण गरी कान्तिपुरको अडानप्रति एक्यबद्धता वनाउँदै आवश्यक सहयोग दिने बताएका हुन् ।

बारका अध्यक्ष प्रेमबहादुर खड्काले आफुहरु सधै मानव अधिकार र प्रेस स्वतन्त्रताको लागि लडिरहेको उल्लेख गर्दै आवश्यक परे कानुनी सहायताको लागि तयार रहेको बताए ।

'न्यूजप्रिन्ट रोकिएकोमा हामी गम्भीर छौं । यसले जनताको सुसूचित हुने अधिकारबाट बञ्चित गराउँदछ' उनले भने, 'जनताको मुख थुन्न खोजिएको छ । यस्तो गल्ती दोहोरिन दिनुहुँदैन ।'

उनले यसै बिषयमा बारको केन्द्रिय समितिको बैठक बसिरहेको उल्लेख गर्दै आवश्यक परे बारले काननी सहयोग गर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले समस्याको छिटो, सहज र अधिकारीक रुपमा समाधान हुनुपर्ने बताए । उनले भारतले नेपाल-भारतबीचको पारबहन सन्धीको उल्लंघन गरेको उल्लेख गरे ।

'हामीले अत्यन्त गम्भीर छौं । यो खरिद-विक्रीको मुद्दा मात्र नभइ संविधान र अन्तरराष्ट्रिय कानुनहरुले दिएको प्रेस स्वतन्त्रताप्रतिको अतिक्रमण हो' उनले भने, 'जनताको सुचनाको हक प्रभावित हुन दिनुहुन्न ।'

उनले प्रेस स्वतन्त्रताको पक्षमा रहेका अन्तरराष्ट्रिय संघसंस्थाहरुले पनि चासो व्यक्त गरिरहेको उल्लेख गर्दै महासंघले यस मद्दालाई आफ्नो सञ्जालमार्फत अन्तरराष्ट्रिय मञ्चमा प्रवेश गराइसकेको बताए । 'सशक्त र स्वतन्त्र सञ्चार माध्यमको बाहक कान्तिपुरलाई निरन्तर अघि बढ्नै वातावरण बनाइयोस' उनले भने ।

चिकित्सिक संघका अध्यक्ष केदार नरसिंह केसीले पनि आफुहरु न्यूजप्रिन्ट रोकिएको घट्नाले स्तव्ध भएको उल्लेख गर्दै स्वतन्त्र पत्रकारिताप्रति कही कतै व्यवधान हुन नहुने बताए ।

0 comments:

Post a Comment