धर्मश्री विजेता सानु दुई बर्ष प्रतिबन्धित

  • Friday, June 25, 2010
  • Posted by Madan Sapkota

नेपालको प्रतिष्ठित शारीरिक सुगठन प्रतियोगिता धर्मश्रीका विजेता सानु गुरुङ दुईबर्षका लागि सबैखालका प्रतिस्पर्धामा सहभागी हुनबाट प्रतिबन्धित भएका छन् । करिब तीनहप्ताअघि उनी यहाँ आयोजित प्रतियोगिता हङकङ बडी बिल्डिङ च्याम्पिएनसीपमा सहभागी थिए

उक्त प्रतिस्पर्धामा उनले डोपिङ टेस्टका लागि गरिएको अनुरोध अस्वीकार गरेको र खेल मर्यादा पालना नगरेको आरोप लगाउँदै आयोजक हङकङ चाइना बडी बिल्डिङ एसोसिएसनले इन्टरनेशनल नेचुरल बडी बिल्डिङ एसोसिएसन (आइएनबीए) लाई कारवाहीका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा गत बिहीबार सानुलाई आइएनबीए हङकङले दुईबर्ष सम्मका लागि सबैखालका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने निर्णय सुनाएको हो । निर्णय पूर्व आइएनबीएले हङकङ नेपाली बडी बिल्डिङ एसोसिएसन (एचकेएनबिबिए) का पदाधिकारीहरु सँग स्पष्टीकरण सोधेको थियो ।

प्रतियोगितमा हङकङ नेपाली बडी बिल्डिङ एसोसिएसनका तर्फबाट पचहत्तर केजी र मास्टर्स समूहमा सहभागी सानुले दुबै समूहमा फष्ट रनर लगायत बेष्ट पोजिङ सहित चार उपाधि जितेका थिए । सानुलाई दोस्रो घोषित गरिएपछि उपस्थित दर्शकदिर्घाबाट सही निर्णय नभएको भन्दै होहल्ला भएको थियो ।

आइएनबीएका निर्णयकै कारण उनी गतहप्ता काठमाडौंमा आयोजित दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता खेल्नबाट वञ्चित हुनुपरेको हङकङ नेपाली बडी बिल्डिङ एसोसिएसनका अध्यक्ष मेख गुरुङले बताए । दश बर्षपछि घरेलु मैदानमा आयोजित दक्षिण एसियाली प्रतियोगितामा उनले १३ प्रतिस्पर्धीलाई उछिनेर आफ्नो स्थान पक्का गरेका थिए । अगष्टमा इरानको तेहरानमा हुने एसियाली शारीरिक सुगठन प्रतियोगितामा समेत उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने पक्का भएको थियो । अब भने उनी उक्त प्रतियोगितामा समेत सहभागी हुन पाउने छैनन् ।

एसोसिएसनका अध्यक्ष मेख गुरुङले निलम्बनका विषयमा अपिल गर्न आफूहरुले कानुनी सल्लाह गरिरहेको बताए । आइएनबीएले निर्णयबारे नेपाली एसोसिएसनको धारणा चौध दिनभित्र राख्न पत्राचार गरेको समेत अध्यक्ष गुरुङले बताए । 'खेल हार्दा खेलाडी र दर्शक थोरै आवेशमा आउनु सामान्य कुरा हो,' अध्यक्ष गुरुङले भने, 'यति सानो विषयलाई लिएर खेलाडीकै भविष्य विगार्ने गरी निर्णय आउनु अत्यन्तै दुःखद कुरा हो ।' गतबर्ष यसै प्रतिस्पर्धामा उनले सत्तरी केजी तौल भन्दा माथिको नोभाइस र असी किलोग्राम तौल समूहको हेभीवेटमा सेकेण्ड रनर अप सहित वेष्ट पोजिङको उपाधि जितेका थिए

0 comments:

Post a Comment